काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललाई नेतृत्व छोड्न प्रस्ताव गरेका छन् । संयोजक दाहाललाई ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै खनालले नेतृत्व विचलित भएको र अब यसले महाधिवेशनसम्म लैजान नसक्ने ठोकुवा गरेका छन् ।
‘यस्तो अवस्थामा पार्टी महाधिवेशनसम्म पार्टीलाई व्यवस्थित रूपले पुर्याउनु नै गाह्रो छ । त्यसो हुँदा तपाईँ संयोजक र सह(संयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्ग प्रशस्त गर्नोस् । नयाँ, योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटीलाई अधिकार दिनोस्, त्यो कमिटीले राष्ट्रिय महाधिवेसन गर्नका निम्ति पार्टी केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरोस्,’ पत्रमा भनिएको छ ।
पार्टी नेतृत्वलाई सम्बोधन गर्दै खनालले पठाएको पत्रका वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्गठन गर्न नसकेको आरोप लगाएका छन् ।
खनालका अनुसार अन्तरिम विधानमा जनताको बहुदलीय जनवाद (जबज), प्रजातान्त्रिक समाजवाद, वर्तमान संविधानवाद तथा संसदीय पुँजीवादी लोकतन्त्रका तत्वहरू मिसिएका छन्। उनले यसलाई वैचारिक रूपमा असंगत र दिशाहीन दस्तावेज भएको टिप्पणी गरेका छन् ।



